newsone

डा. गोविन्द के.सी. जहाँ अनसन बस्छन्, म त्यहीं बस्छु

newstwo डा. गोविन्द के.सी. जहाँ अनसन बस्छन्, म त्यहीं बस्छु

सामाजिक अभियन्ता चैतन्यप्रकाश मैनाली यतिवेला डा. गोविन्द केसीको अभियानको विरोधमा खुलेर लागेका छन् । डा. गोविन्द केसी जुन प्रयोजनका लागि महाराजगंजस्थित टिचिङ अस्पतालमा १० औं अनशन बस्दै थिए, त्यसकै विरोधमा उनी झापामा अनशन बसिरहेका थिए । डा. केसी सरकारले उनले उठाएका माग पूरा नगरेको, गद्धारी गरेको भन्दै आन्दोलनको चेतावनी दिइरहँदा केसीको विपक्षमा चैतन्यप्रकाश मैनाली पनि कुर्लिरहेका छन् । डा. केसीले जुन तरिकाले आन्दोलन गर्दैछन, त्यही तरिकाले प्रतिवाद गर्न चैतन्यप्रकाश मैनाली तयार भएर बसेका छन् । किन केसीका विरोधमा मैनाली कस्सिए त ?  पढौं मैनालीको अन्तर्वार्ताः

नयाँ विद्यार्थी भर्ना र शुल्कसम्बन्धी आईओएम फ्याकल्टी बोर्डको अधिकारलाई त्रिवि कार्यकारी परिषदमा लैजाने निर्णय नउल्ट्याएमा सत्याग्रह बस्ने चेतावनी चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीले दिएका छन् । उनले आन्दोलन गर्ने चेतावनी दिने वित्तिकै तपाईंले पनि केसीको विरोधमा बोल्नुभयो किन ? 
– डा. गोविन्द केसीले भनेको मान्दै जाने हो भने यो देश उनैलाई चलाउन दिए हुन्छ । उनले आफूले तलव खाएर गरिरहेको ठाउँलाई सुधारेर देखाए हुन्थ्यो नि ! महाराजगञ्जस्थित टिचिङ अस्पतालको हाडजोर्नीको उपचारलाई सुधारेर देखाएमा उनी वाहीवाही हुने थिए ! सबैतिर हात हालेर उनले आफूले तलब खाएर काम गरेको ठाउँलाई भने लथालिङ्ग/भताभुङ्ग पारिरहेका छन् । 

स्वास्थ्य क्षेत्रको सुधारका नाममा डा. गोविन्द केसीले नेपालको स्वास्थ्य क्षेत्र भताभुङ्ग बनाउँदैछन् । प्रारम्भमा उनले उठाएको माग ठीकै लागेको थियो । हामी जस्तालाई पनि प्रारम्भमा भ्रम पार्न सफल भएका थिए उनी । विद्यार्थीलाई विदेश पढ्न पठाउने, नेपालको उपचार महंगो र कमजोर बनाउने स्वास्थ्य/शिक्षा क्षेत्रका माफियाको अभियानमा उनी फसेका छन् । प्रतिस्पर्धात्मक ढंगले जाने अहिलेको परिपाटीमा डा. गोविन्द केसीको तजविजीमा चल्ने कसरी हुन्छ ? पारिवारिक शासनका विरुद्ध लडेर जितेका नेपालीले डा. गोविन्द केसीको शासनलाई व्यहोर्न चाहदैंनन्, मान्दैनन् । 

तपाईं सामाजिक अभियन्ता । यति सा¥हो डा. गोविन्द केसीको विरुद्ध किन लाग्नुभएको हो ?

– एक समय डा. गोविन्द केसीको अभियानलाई समर्थन नै गरेको मान्छे हुँ । प्रारम्भमा उनले स्वास्थ्य क्षेत्रमा सुधार गर्न अभियान नै चलाएको ठानेको थिएँ । पहिलोदेखि दशौंसम्मको उनको अनशनको मागलाई केलाएर अध्ययन गर्नुस त उनी कति प्रायोजित अभियानमा छन भन्ने प्रमाणित हु्न्छ । उनी नेपालको चिकित्सा अध्ययन र यस क्षेत्रलाई तहसनहस पार्नेहरुको योजनामा जोडिएको प्रष्ट भएपछि विरोध गरेको हुँ । डा। गोविन्द केसीको विरोध मैले गरेको छैन । उनको व्यक्तिगत विषयसँग मेरो कुनै सरोकार पनि छैन ।  

तपाईंको अहिलेको मुख्य चासो चाहिं के हो त ?

– मापदण्ड पूरा गरेकाहरुले मेडिकल कलेज, अस्पताल खोल्न पाउनुपर्छ भन्ने मेरो कुरा हो । डा. गोविन्द केसीको अनशनका कारण धेरै जेहन्दार नेपाली विद्यार्थीहरु विदेशमा पढ्न जान वाध्य छन् । एक वर्षमा १७ अर्ब रुपियाँ विदेशमा जाने अवस्था छ । सहज ढंगले यही पढ्ने व्यवस्था हुने भए त्यति धेरै रकम विदेशमा जाने थिएन । विदेशबाट पनि विद्यार्थी पढ्न आउने थिए । नेपालमा पैसा आउँथ्यो । 

१७ अर्बमा कम्तीमा कन्सल्ट्याण्टले तीन चार अर्ब त पाउँछन । तिनीहरुको चंगुलमा डा. केसी परेका छन् । आर्थिक लाभमा उनी फसेका छन या छैनन् यो मलाई थाहा छैन, तर उनी तिनको सहयोगी भने भएका छन् । 

लोकतन्त्र भनेकै प्रतिस्पर्धात्मक प्रणाली हो । यो एकाधिकारको विरोध हो । कि शिक्षा, स्वास्थ्य राज्यले नै दिनुपर्छ, हैन भने प्रतिस्पर्धामा जान दिनुपर्दैन रु फलानोले पाउने, फलानोले नपाउने, यसलाई यस ठाउँमा नियुक्ति गर, उसलाई यस ठाउँबाट हटा भनेर स्वास्थ्य क्षेत्रमा अराजकता मच्चाउने को हुन डा. गोविन्द केसी ? उनले भनेको नमान्ने हो भने भोलि निर्वाचन आयुक्त हटा, भन्सारमा डाइरेक्टर यसलाई बना भन्छन । प्रधानमन्त्रीको पनि कुन दिन उनले राजीनामा माग्छन र उनकै अनशनका कारण प्रमले राजीनामा दिनुपर्ने हुनसक्छ । 

डा. गोविन्द केसीको हठ, आमरण अनशनका नाममा भावनात्मक ब्लाकमेलिङ गर्ने परिपाटीको यो सरकारले अन्त्य गर्नुपर्छ । डा. गोविन्द केसीका नाममा स्वास्थ्य क्षेत्रमा भइरहेको अराजकताको अन्त्य हुनैपर्छ । 

डा. गोविन्द केसी बसेकै ठाउँमा उनको मुद्धाको विपक्षमा अनशन बस्ने चर्चा गर्नुभएको छ । किन एकै ठाउँमा अनशन बस्न खोज्नुभएको हो ?

– उनी आफ्ना सहयोगीको साथमा रहेर अनशन बस्छन । वर्षौसम्म अनशन बसेको विश्वमा उदाहरणहरु छन । डा. गोविन्द केसीको अनशन नै प्रायोजित हुनसक्छ पहिलो । दोस्रो भनेको मुद्धालाई स्वतन्त्र ढंगले विश्लेषण गर्न सहयोग हुन्छ भनेर त्यसरी बस्न लागेको हुँ । उनले उठाएका मुद्धा र मैले उठाएका मुद्धालाई एकै ठाउँमा राखेर स्वतन्त्र र निस्पक्ष ढंगले अध्ययन गराउनुपर्ने भएको छ ।  

तपाईं बिर्तामोड, झापाको बी एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ भनेर अलि बढी नै लड्नुभएको छ । किन ? 

– म बी एण्ड सीको पक्षमा मात्र लडेको होइन । पूर्वाधार पूरा गरेका काठमाडौंका कलेजले पनि सम्बन्धन पाउनुपर्छ भन्ने मेरो कुरा हो । 

जहाँसम्म बी एण्ड सीको कुरा हो, त्यो आफ्नै आँगनमा निर्माण भएको र निकै सुविधा सम्पन्न छ । यो क्षेत्रका जनतालाई यसले राम्रो सुविधा दिनसक्छ । म मात्र होइन यस क्षेत्रका सबैजसो जनतालाई सोंध्नुस, यसलाई मेडिकल कलेज खोल्न दिनुहुन्न, अस्पताल चलाउन दिनुहुन्न भन्नेहरुसँग कति आक्रोसित हुन्छन ? नजिकै जोडिएको भारतको सिलगुडीमा भन्दा यो अस्पताल सुविधा सम्पन्न छ, त्यहाँका विरामीलाई पनि यता तान्ने अवस्था छ । पहिला यताबाट सिलगुडी जान्थे, यो राम्रोसँग सुचारु भएको स्थितिमा उताबाट यता आउँछन् उपचार गर्न । 

डा. गोविन्द केसी र उनका पक्षधरले यसको किन विरोध गरेको लाग्छ तपाईंलाई ?

– मैले पहिले नै भनिसकें, डा. गोविन्द केसी माफियाको चंगुलमा परेका छन् । पहिला उनले काठमाडौंमा खोल्न हुँदैन भने, पछि वाहिर पनि खोल्न नदिने भनेका छन् । भविस्य प्रभावी कानुनको कुरा उठाएका छन । विश्वमा नहुने कुरा गरिरहेका छन् । अहिलेको नियम, कानुन मानेर खोल्न किन रोक्ने रु प्रस्तावित प्रदेशको कार्यान्वयन भएपछि प्रत्येक प्रदेशमा एउटा मेडिकल विश्वविद्यालय हुनुपर्ने, त्यही मेडिकल विश्वविद्यालयले मात्र त्यो क्षेत्रमा मेडिकल कलेजलाई सम्बन्धन दिनसक्ने भनेका छन् । जुन कुरा हालको नेपालको अवस्थालाई हेर्दा त्यो प्रायः असम्भव नै छ ।  

उनले खोल्न दिने क्राइटेरियामा एक नम्बर प्रदेशमा रहेको धरानस्थित बीपी कोइराला मेडिकल कलेज पनि मिल्दैन । चार सय बिघा जमिन चाहिने प्रावधान बनाएका छन् । भौतिक पूर्वाधारका लागि खर्बौको बजेटको कुरा पनि आउँछ । बीपी कलेजलाई नै क्राइटेरियामा नपरेपछि उसले बी एण्ड सीलाई कसरी सम्बन्धन दिनसक्छ ? अरुहरुलाई कसरी दिनसक्छ ? डा. गोविन्द केसी नेपालमा अस्पताल र मेडिकल कलेजलाई सिध्याउने योजनामा काम गरिरहेका छन् ।  

उनले काम गरिरहेको महाराजगंजस्थित शिक्षण अस्पताल नेपालको अब्बल मानिन्थ्यो, अहिले उनको अनशनका कारण निकै कमजोर भएको छ । त्यहाँ पास गरेर चिकित्सा क्षेत्रमा पढिरहेका जेहन्दार विद्यार्थी पढाई बिग्रिएको भन्दै विदेशतिर लागेको चर्चा छ । उनको गलत हर्कतका कारण आजित भएर महाराजगञ्जस्थित शिक्षण संस्था र अस्पताल नै उनको विपक्षमा खुलेर लागेका छन् । अझै गोविन्द केसीले किन चेत्दैनन् ?    

डा. गोविन्द केसी र सरकारबीच भएको १२ बुँदे सम्झौता खारेज हुनुपर्ने भन्दै परेको रिटलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । यसले झापाको बीएण्ड सी मेडिकल कलेजलाई असर गर्दैन ?

– अन्तरिम आदेश तत्काल दिनु नपर्ने भनेको हो, हामीले हारेको होइन । हामी निरन्तर सामाजिक र कानुनी लडाईं लडिरहन्छौ । गोविन्द केसी र उनको पछाडि रहेका माफियाका विरुद्ध लडिरहन्छौ । सत्यको पक्षको लडाईं भएकाले अन्तिममा हाम्रो विजय भइछाड्छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive