newsone

गाडी, चालक, यात्रा र यात्री

newstwo गाडी, चालक, यात्रा र यात्री

 

दुर्गाप्रसाद भण्डारी

सामान्य भाषामा गाडी भनेको सवारी साधन हो भने चालक भनेको गाडीलाई चलाएर गन्तव्यमा पु¥याउनका लागि नियुक्त भएको योग्य व्यक्ति हो । त्यस्तै यात्रा भनेको गन्तव्य हो र यात्री भनेको गन्तव्यमा पुग्न यात्रा तय गरिरहेको व्यक्ति हो । त्यसैले यी सबैको सामञ्जस्यबाट तय भएको एउटा यात्रा पूरा हुन्छ । 

गाडी

गाडीको सामान्य परिभाषा वा अर्थ माथि दिइयो तर लाक्षणिक रुपमा गाडीको अर्थ अनेक छन् । गाडी मानवीय जीवनका योजना पूरा गर्ने एउटा माध्यम पनि हो । साथै गाडी भनेको जीवन पनि हो । गाडी भनेको कुनै संघ–संस्था पनि हो । गाडी भनेको कुनै सरकारी वा गैरसरकारी, राष्ट्रिय वा अन्र्तराष्ट्रियस्तरको संस्था पनि हो । गाडी भनेको कुनै तहको सरकार पनि हो । चाहे वर्तमान नेपालको स्थानीय, प्रदेश वा संघीय तहको सरकार किन नहोस् त्यो पनि एक प्रकारको गाडी नै हो । 

गाडी नयाँ पनि हुन सक्छ र पुरानो पनि हुन सक्छ । यदि गाडीको स्थिति ठीक भएन भने त्यो गाडी गन्तव्य नपुगेरै बिग्रन सक्छ । जसको असर सम्पूर्ण यात्रीलाई समेत पर्छ । चाहे त्यो बस, रेल, पानी जहाज र हवाइजहाज नै किन नहोस् आखिर ती पनि गाडीका नै प्रारुप हुन् । त्यसैले सकभर गाडी नयाँ हुनु पर्दछ भएन भने पनि त्यसको हेरचाह ठीक ढंगको हुनुपर्दछ । जसले गर्दा गन्तव्य नपुग्दै त्यसमा खराबी नआओस् । 

चालक 

कुनै पनि गाडी वा यातायातको साधन चलाउनका लागि चालक राखिएको हुुन्छ । केवल गाडी नयाँ भएर वा मर्मतसम्भार भएर मात्रै पुग्दैन, त्यसका लागि चालक पनि सही सोचको हुनु पर्छ । गाडी नयाँ छ तर चालक सही भएन भने पनि यात्रीहरुको यात्रा गन्तव्यहीन हुन सक्छ । अन्तैतिर लैजान सक्ने वा गन्तव्यतिर लैजाने जिम्मेवारी चालककै रहेको हुन्छ । सवारीसाधन (गाडी)का चालक एक पनि हुन सक्छन् र अनेक पनि हुन सक्छन् । जुनप्रकारले लामो दुरीका रात्री बसहरुमा दुईटा चालकहरु हुन्छन् र हवाइजहाजहरुमा पनि दुई वा सोभन्दा बढी र पानीजहाजहरुमा पनि एकभन्दा बढी चालकहरु हुन्छन् । यस्तै रेलहरुमा पनि हुन्छ । चालकको काम जुन साधनको उसले प्रयोग गरिरहेको छ, त्यो साधनको ठीकसँग प्रयोग गर्नु र यात्रीहरुलाई सही गन्तव्यमा पु¥याउनु हुन्छ । 

त्यसैले चाहे त्यो बस, रेल, पानीजहाज र हवाइजहाज नै किन नहोस् सही ढंगले चलाउन सकेन र सही गन्तव्यको पहिचान भएन भने लक्ष्यमा त पुग्न सकिंदैन नै दुर्घटनासमेत हुन सक्छ । जसको असर यात्रीहरुलाई पनि पर्दछ । त्यतिमात्र नभई त्यो यात्रासँग र गाडीसँग सम्बन्ध राख्ने सबैलाई कुनै न कुनै प्रभाव पर्दछ । त्यसकारण गाडी चालकले गन्तव्यका साथै गाडीको अवस्थाको विषयमा पनि दख्खल राख्नु पर्दछ । कुन नटबोल्टको स्थिति के हो ? इन्धनको अवस्था कस्तो छ ? यात्रीको अवस्था के छ ? आदि इत्यादि । त्यसैले यात्रीको यात्रामा यदि गाडी छ भने बढी जिम्मेवार चालक नै रहन्छ । यदि चालक सुन्दर, सुशील र सक्षम छ तर गन्तव्यहीन छ भने त्यो सुन्दरता र सुशीलताले केही गर्न सक्दैन ।       

यात्रा

यात्रा भनेको गन्तव्य भेटाउन प्रयत्नरत भइरहनु हो । चाहे त्यो कुनै स्थान पनि हुन सक्छ वा कुनै कार्य पनि हुन सक्छ । पैदल यात्री र कुनै सवारी साधन भएको यात्रीको यात्रा अवस्था फरक–फरक हुन सक्छ । कुनै संघसंस्था वा सरकारी तथा गैरसरकारी कार्यालयमा भएको मानिसको यात्रा फरक हुन सक्छ । त्यस्तै सरकारका तीनै तहका तीनवटै अङ्गमा रहेकाहरुको यात्रा फरक हुन सक्छ र अघोषित चौथो अङ्ग नै किन नहोस् उसको पनि यात्रा फरक ढङ्गको हुन सक्छ तैपनि यात्राको अन्तिम परिणाम एउटै हुन सक्छ, त्यसलाई लक्ष्य प्राप्ति गर्नु भनिन्छ । अर्थात् यात्रीको कार्यशैली पनि यात्रा हो । जीवनको जिउने क्रम (पद्दति) पनि एउटा महत्वपूर्ण यात्रा नै हो । जीवनको विषयमा यात्रालाई कसरी सफल बनाउने भन्ने कुरा स्वयम् यात्रीमा निर्भर रहे पनि गाडीमा यात्रारत यात्रीलाई कसरी उसको गन्तव्यसम्म सहीरुपमा पु¥याउने भन्ने विषयमा चालकको पनि महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले गन्तव्यबिनाको यात्रा कहिल्यै हुन सक्दैन । गन्तव्यसहितको यात्राले नै यात्राको सही अर्थ राख्दछ ।

यात्री

यात्री भनेको कुनै उद्देश्य लिएर हिंडेको व्यक्ति बुझिन्छ । त्यहाँ भौतिक सवारी साधन जोड्न पनि सकिन्छ र नजोड्न पनि सकिन्छ । यात्री गाडीमा सवार हुन पनि सक्छ र नहुन पनि सक्छ । अन्य साधनहरुको प्रयोग गरेर पनि यात्रीले यात्रा तय गरेको हुन सक्छ र यात्री पदमार्गबाटै यात्रा अगाडि बढाइरहेको पनि हुन सक्छ । तैपनि समग्रमा यात्री यात्राभर केही न केही लक्ष्य लिएर हिंडेको हुन्छ । चाहे त्यो साधनसहितको होस् वा साधनरहितको होस् । उद्देश्यविहीन यात्रा नै हुँदैन । यात्रीको यात्रालाई विभिन्न क्षेत्रसँग वा कार्यसँग जोडेर पनि हेर्न सकिन्छ । 

यदि जीवन जिउने क्रमलाई यात्रा मान्ने हो भने त्यहाँ गाडी उसको जीवन(शरीर) हो, चालक उसको चेतना (विवेकशील बुद्धि) मन सहचालक हो भने यात्रा उसको जिन्दगी हो । इन्द्रीयहरु उसका यात्री हुन् । यदि बुद्धिको सही प्रयोग भएन भने वा मनले पनि परामर्शमा कार्य गरेन भने सबै इन्द्रीयरुपी यात्रीहरुको कार्य सही रुपले हुँदैन । अनि मनको तानाशाहीले वा मनपरिले गर्दा एउटा जीवन नै समाप्त हुन्छ । त्यसैले इन्द्रीयमाथि मनको लगाम र मनमाथि आत्माको लगाम हुन जरुरी हुन्छ । 

त्यसैले गाडी, चालक, यात्रा र यात्रीको अनन्य सम्बन्ध रहन्छ । व्यक्तिगत जीवनलाई यात्रा मान्दा माथिको उदाहरण पर्याप्त हुन्छ भने परिवारलाई यात्रासँग जोड्ने हो भने उनीहरुको गाडी घर हो, यात्रा परिवारको गतिविधि हो । त्यसको चालक घरमुली हो र यात्री त्यसका सबै सदस्यहरु हुन् । यसप्रकारको यात्रामा सहायक चालकहरुको रुपमा गृहणी हुन्छिन् वा घरमुलीपछिको दोस्रो स्थानको व्यक्ति हुन जान्छ । यात्री बुढा बा, आमा र बालबालिका (छोराछोरी) हुन सक्छन् । यहाँ ती सन्तान र वृद्धवृद्धाको यात्रा सहज बनाउने कार्य चालक र सहचालक बनेका पतिपत्निको हातमा हुन्छ । यदि उनीहरुले ठीक ढङ्गले लगाम लिएर यात्रा सही रुपले सञ्चालन गरे भने घर वा परिवारको वास्तविक रुप देखा पर्दछ अन्यथा गतिहीन र मतिहीन भएर हेर्दाहेर्दै परिवार ध्वस्त हुन पुग्दछ । न त कुनै अनुशासन हुन्छ वृद्ध भएका बाबुआमाले रोईरोई जीवन बिताउनु पर्छ भने सन्तानहरुले पनि सही प्रकारले शिक्षादीक्षा नपाएर बिचल्ली हुन्छ । अन्त्यमा गएर ती सन्तानहरु अराजक रुपले प्रकट हुन्छन् र घर केवल नामको घर हुन्छ भने त्यसले परिचय घरको दिइरहेको हुँदैन ।
यस्तै हरेक संघ–संस्था वा कार्यालयको पनि हुन्छ । कुनै पनि कार्यालयको गाडी स्वयम् कार्यालय वा संस्था नै हो चालक संस्थाका प्रमुख र सहचालक प्रमुखका सहयोगी हुन् । त्यसमा यात्रा लक्ष्य र यात्री लक्षित वर्ग (उपभोक्त)हरु हुन्छन् । त्यसैले यी सबैको तालमेल सही भएन भने गाडीरुपी संस्था वा कार्यालय समाप्त हुन्छ । चालक सहचालकहरुले सही निर्णय र कार्यको थालनी गरेनन् भने उनीहरु पनि समाप्त हुन्छन् र यात्रारुपी लक्ष्य पनि समाप्त हुन्छ र यात्रीरुपी लक्षित वर्ग पनि ठूलो दुर्घटनामा पर्दछन् । त्यसकारण यी सबैको सही उपयोग र प्रयोग हुन जरुरी हुन्छ ।

यसैगरी देशको विषयमा चर्चा गर्दा मुलुक एउटा गाडी हो । सरकार (प्रधानमन्त्रीय पद्दतिमा मुख्यचालक सरकारका प्रधानमन्त्री हुन् भने अन्य मन्त्रीहरु सहचालक हुन्) त्यसको चालक हो । लक्ष्य (सरकारी कार्य) एउटा यात्रा हो भने जनता यात्री हुन् । यदि यहाँ चालक प्रधानमन्त्री र सहचालकरुपी मन्त्रीहरुको काम गराइमा सही तालमेल भएन भने गाडी (मुलुक) बिग्रन सक्छ । सहीरुपमा जनताप्रति उत्तरदायी भएर काम गर्ने हो भने मुलुक बर्बाद हुने अवस्था आउँदैन । चालक तथा सहचालकहरुले आ–आप्mनै स्वार्थका लागि कार्य गरे भने गन्तव्यमा पुग्नुको साटो बीचमै समाप्त हुन सक्छन् । 

यहाँ यसलाई यसरी पनि भन्न सकिन्छ । सरकार एउटा रथ हो, प्रधानमन्त्री त्यसका सारथी हुन् । अन्य मन्त्रीहरु रथ दौडाउने घोडा (अश्व)हरु हुन् । जनता वा मुलुक यात्री हुन् । यदि रथलाई सही प्रयोजनमा ल्याउँदै लक्ष्यमा पुग्ने हो भने दरिलो र साहसी सारथी पनि चाहिन्छ । सही लक्ष्यका लागि रथ चलाएका सारथीका कुनै घोडाले खुट्टा कमाउन लागे वा खोरेत प¥यो भने त्यो रथ सही दिशामा चल्न सक्दैन कि त्यस अश्वको उपचार गर्नु पर्दछ कि त अर्को तालिम प्राप्त घोडालाई रथमा जोड्नु पर्दछ । खोरेत परेको बिरामी, कायर वा कुनै पनि रोग लागेको घोडासमेत अन्य निरोगी घोडासँगै दौडिन सक्दैनन् र रथ दुर्घटनाग्रस्त हुन्छ । त्यसैले समयमै त्यसको समाधान गर्नु पर्दछ । 

अर्थात् वर्तमान सरकारमा पनि प्रधानमन्त्री सरकाररुपी रथका सारथी भएकाले मन्त्रीरुपी घोडाहरु सही मार्गमा चल्न जरुरी छ । यदि मुलुक वा जनतारुपी यात्रीलाई लक्ष्यरुपी यात्रामा पु¥याउने हो भने खोरेत लागेका घोडाजस्तै कुनै मन्त्रीहरु हुनुहुँदैन । केही मन्त्रीहरु पहिले पनि व्यक्तिगत कार्यशैलीका कारण अहिलेसम्म चर्चित छन् । विरामी नभएरै बाटो बिराउँछन् भने पनि प्रधानमन्त्रीले सही ट्रयाकमा ल्याउनु पर्दछ । यतिबेला गृहमन्त्री रामबहादुर थापाले गरेको कार्य सराहनीय छ । उनको कार्यशैलीलाई अन्य केही मन्त्रीहरुले आत्मसात् गर्ने प्रयास गर्नुपर्छ । आँट गरे जनताका लागि केही गर्न सकिन्छ भन्ने देखाउनेहरुलाई हतोत्साहित गर्ने कार्य कसैबाट हुनुहुँदैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका वाचाहरुलाई पूरा गर्नतिर सबै मन्त्रीहरु लाग्नु पर्दछ । यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम्रो गर्नेलाई दिएको पुरस्कार र काम नगर्नेलाई दिएको दण्डलाई पनि हेर्न सकिन्छ । पूर्ण बहुमतको दलको नेतृत्वमा दुईतिहाईको समर्थनमा बनेको सरकारमा कुनै पनि मन्त्रीलाई अलोकप्रिय कार्य गर्न छुट हुँदैन बरु समय लगाउनुहोस् यो पाँच वर्ष मुलुकलाई सुधार्न र सही ट्रयाकमा ल्याउन जनताले जनमत प्रकट गरेका छन् । यदि यतिबेला पनि मुलुक अगाडि बढ्न सकेन र जनतालाई माथि उठाउन सकिएन भने कहिल्यै सकिने छैन । 

जनताका लागि, जनताद्वारा, जनतामाथि गरिने शासन नै लोकतन्त्र वा जनवाद भएकोले जनतालाई नै सर्वोपरि मानेर काम गर्न जरुरी छ । त्यस कार्यलाई विरोधका लागि विरोध गर्न कसैले हुँदैन, सर्मथन र सहयोग गर्नु पर्छ । अनि मात्र मुलुक र जनताको भविष्य उज्ज्वल हुनेछ । यसरी नै गाडी, चालक, यात्रा र यात्रीको सही तालमेल भएमा सकारात्मक परिवर्तनका लागि कुनै कुरा असम्भव छैन ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive