newsone

एनआरएनए युरोप बैठक  हात्ती आयो,  हात्ती आयो फुस्सा 

newstwo एनआरएनए युरोप बैठक  हात्ती आयो,  हात्ती आयो फुस्सा 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं युरोपेली बैठक राजनीतिक मुद्दामा केन्द्रित भएर सकिएको छ । लक्जेम्वर्ग घोषणापत्र जारी गरिए पनि यसअघिका बैठकका निष्कर्ष र अहिलेको बैठकको निष्कर्ष उस्तै भएका छन् । तर, यसपटकको बैठकमा राजनीतिक अधिकारका विषयमा छलफल भएको छ । गैरआवासीय नेपालीलाई प्रदान गरिने नागरिकताका विषयमा गहन छलफल भए पनि राजनीतिक अधिकार दिलाउने विषयमा मत बाझिएको छ । संविधान अनुसार गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था छ । तर, राजनीतिक अधिकारको कुरा भने दिइएको छैन । राजनीतिक अधिकारविहीन गैरआवासीय नागरिक प्राप्त गर्न नसकिरहेका बेलामा एनआरएनए बैठकमा राजनीतिक अधिकारको कुरा जोडतोडले उठेको छ । तर, वर्तमान नेतृत्वले अहिलेसम्म संविधानमा उल्लेख भए अनुसारको गैरआवासीय नेपालीका लागि दिइने नागरिकता प्राप्त गर्न दवाब सिर्जना गर्न सकिरहेको छैन । 

लक्जेम्वर्गको हिल्टन होटलमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्व प्रधानमन्त्री एवम् सांसद् डा. बाबुराम भट्टराई, सांसदद्वय रामकुमारी झाँक्री र डा. सूर्य पाठक, पूर्व मन्त्री एवम् भट्टराईपत्नी हिसिला यमीलगायत सहभागी थिए । बैठकमा युरोप, अमेरिका, मध्यपूर्व, अफ्रिका र नेपालबाट झण्डै चार सय जनाको उपस्थिति रहेको थियो । बैठकमा लक्जेम्वर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइशले, एनआरएनएका अध्यक्ष भवन भट्टलगायत पदाधिकारी, एनआरएनएका संरक्षक एवम् पूर्व अध्यक्ष जीवा लामिछाने, संरक्षक रामप्रताप थापालगायत सल्लाहकारसमेत उपस्थित बैठकमा लक्जेम्वर्गका प्रधानमन्त्री जाभियर बेटेल र प्रमुख संरक्षक एवम् एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भिडियोमार्फत् सन्देश पठाएका थिए । सो बैठकमा युरोपका सबै देशका एनआरएनए एनसीसीका प्रतिनिधि सहभागी भएको एनआरएनएका प्रवक्ता भुषण घिमिरेले जनकारी दिए । 

गैरआवासीय नेपाली संघ एनआरएनएले संवैधानिक अधिकारको पूर्ण उपभोगका लागि तत्काल कानुन निर्माण गरी आगामी असोज महिनाभरमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि नेपाल सरकारसँग माग गरेको छ । बैठकले कार्यक्रममा सहभागी मन्त्री, पूर्वप्रधानमन्त्री र सांसदका आश्वासन र सदासयताका लागि धन्यवादसमेत ज्ञापन गरेको छ । एनआरएनए कोष निर्माणका विषयमा पनि छलफल भएको छ । १२ औं युरोपेली क्षेत्रीय बैठक तथा १० औं महिला सम्मेलन इटालीमा हुने तय भएको छ । लक्जेम्वर्गमा सम्पन्न दुई दिने बैठकले सन् २०२० मा आयरल्याण्ड र सन् २०२१ को बैठक फिनल्याण्डमा गर्ने निर्णयसमेत गरेको छ । बैठकमा एनआरएनए युके र बेल्जियमले समेत क्षेत्रीय बैठकका लागि इच्छा व्यक्त गरेका थिए । यसअघि ती देशले बैठक गरिसकेकाले नयाँ देशमा बैठक तोकिएको प्रवक्ता घिमिरेले बताए । बैठकमा अमेरिकाका गौरी जोशीलाई उत्कृष्ट व्यवसायीका रुपमा सम्मान गरिएको थियो । 

दुई दिनसम्म चलेको बैठकमा नयाँ संविधान अनुसार पाउनुपर्ने गैरआवासीय नेपाली नागरिकता, संघले अक्टोबरमा आयोजना गर्ने पहिलो विश्व विज्ञ सम्मेलनको तयारी, सम्मेलनका लागि विषयगत तयारी, नेपालमा रोजगार निर्माणका लागि नेपाल सरकारसँग हुनुपर्ने सहकार्य, महिलाहरुको उद्यमशीलता, एनआरएनएका हरेक तहमा महिलाको सहभागिता, विदेशमा जन्मिएका एकल महिलाका बालबालिकालाई स्वदेश आउजाउको व्यवस्था, लगानीकर्ताको सुरक्षा, लाप्राक नमूना बस्ती, नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना, १० अर्बको लगानी, नेपालमा बार्षिक २० लाख पर्यटक भित्र्याउन पहल गर्ने, मानव तस्करी रोक्न एनआरएनएको भूमिका, युरोपका विभिन्न देशमा नेपाली दूतावासको व्यवस्थापन, नेपाली भाषा तथा कला–संस्कृतिको विदेशमा प्रवद्र्धन, विधान अधिवेशनलगायतका विषयमा छलफल भएको जनाइएको छ । 

‘युरोपियन एनआरएनएको प्रतिबद्धता, नेपालमा पर्यटक, ज्ञान, सीप र लगानी’ भन्ने नाराका साथ जुलाई २९ र ३० तारिखमा सम्पन्न बैठकमा सहभागी पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले एनआरएनएलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्नेमा जोड दिए । नेपाली दिवस सन् २०१८ को अवसरमा आगामी अक्टोबर १३ र १४ मा काठमाडौंमा हुने विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप आयोजित बैठकमा एनआरएनएका अध्यक्ष भवन भट्टले पनि राजनीतिक अधिकारसहितको नागरिकताको विषय संविधान संशोधन गरेरै भए पनि समावेश गर्नुपर्नेमा जोड दिए । तर, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भने गैरआवासीय नेपालीले संविधानअनुसारको नागरिकता पाउने कुरामा आफू प्रतिबद्ध भएको बताए । राजनीतिक अधिकारका विषयमा टिप्पणी नगरीकनै उनले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला गर्न सरकार कानुनको तर्जुमा गर्न जुटेको प्रस्टीकरण दिए । उनले मन्त्री लालबाबु पण्डितका कारण विदेशमा बसेका नेपालीमा पर्न गएको चोटका विषयमा घुमाउरो पाराले माफी मागे । मन्त्री पण्डितको नाम नलिईकन उनले व्यक्तिगत कुराका पछाडि नलाग्न सबैलाई अनुरोध गरे । 

हात्ती आयो हात्ती आयो फुस्सा 

गैरआवासीय नेपाली संघ युरोपले हरेक वर्ष संसारका विभिन्न देशमा रहेका एनआरएनएका नेता, नेपालबाट राजनीतिक नेतृत्व, मन्त्री, सांसद, पत्रकार सबैको सहभागितामा हिल्टन होटलमा यस्तै खालका बैठक गर्दै आएको छ । तर, युरोपको क्षेत्रीय बैठकमा उठेका विषयले न एनआरएनएको नीतिगत कुरा बदल्नका लागि काम गरेको छ न त नेपालको नीति निर्माणमा उल्लेखनीय भूमिका नै खेल्न सकेको छ । हरेक वर्ष मानव तस्करीको विरोध गरिने यस्ता बैठकमा कति नेपाली सहभागी भए भनेर एनआरएनए नेतृत्वले प्रस्ट जवाफ दिन सकेको छैन । यसपटकको बैठकमा पनि ५० जनाभन्दा बढी व्यक्ति नेपालबाट गएको कुरा सार्वजनिक भएको छ । तर, एनआरएनए नेतृत्वले २५ जना मात्र युरोप गएको दावी गर्दै आएको छ । विडम्बना मानव तस्करीको विरोध गरिने यी बैठकमा सहभागी हुने बहानामा नै मानव तस्करी हुने गरेको आरोप लाग्ने गरेको छ । 

पछिल्लो समय युरोपमा मानव तस्करी डरलाग्दोसँग बढेको छ । नेपालबाट गएका पूर्व प्रधानमन्त्री, मन्त्री, सांसदले युरोपमा हुने मानव तस्करीका डरलाग्दा कहानी सुने पनि तस्करी रोक्नका लागि के गर्ने भन्ने कुरा एनआरएनए बैठकमा ठोस छलफल नभएको बेल्जियमका एक सहभागीले बताए । नेपालमा सामूहिक लगानीको कुरा पनि छलफलमा मात्र सीमित भएको छ । बैठकमा सहभागीले युरोपमा रहेका नेपालीको समस्या समाधानका लागि पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै एनआरएनए युरोप क्षेत्रीय बैठक ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भनेर टिप्पणी गरेका छन् । हरेक वर्ष हिल्टन होटलमा बैठक भए पनि उपलब्धि शून्यजस्तै हुने गरेको छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive