newsone

अहा, ती दिन, कठै यी दिन 

newstwo अहा, ती दिन, कठै यी दिन 


नीमबहादुर बुढाथोकी

‘विचरा नीमले यसपटक पनि केही पाएन । दुःख त सुरुदेखि नै गरेको हो । त्याग गरेकै हो । परिवारलाई नै आन्दोलनमा लाग्न उत्प्रेरित ग¥यो । वहिनी सहिद भइन । शीर्ष नेतालाई त चिनेकै हो भन्थ्यो, बेलाबेलामा नेतासँग बसेका फोटो पनि देखाउँथ्यो । टीभी र फेसबुकमा पनि नेतासँग बसेको झल्याकझुलुक देखिन्थ्यो । दुःख गरेर मात्र नहुने रहेछ राजनीतिमा, पैसा चाहिने रहेछ । माथि पुग्न पनि आफ्ना मान्छे माथि चाहिने रहेछन् । कठै निमले दुःखै पाउने भयो अब !’

आजभोलि आफन्त र मप्रति सद्भाव राख्नेका टिप्पणी हुन यी । पछिल्लो परिवेशले धेरैलाई आफन्त र निकटका यस्तैयस्तै दवाव र चिन्ताले सताएको छ । यसपटक मलाई पनि यस्ता विषयले प्रभाव पा¥यो । गाउँपालिकादेखि राष्ट्रियसभा सदस्य बन्नका लागि धाएँ । नेताहरुसँग अनुनय गरें । तर, हात लाग्यो शून्य । 

आजभोलि अलि बढी विगत सम्झन्छु । सायद बूढेसकाल लागेर हो कि ! भौतिक परिवेश नै त्यही भएर हो कि ! 

म गाउँमा पढेलेखेको मान्छे । गाउँमा शिक्षक बन्नु सबैभन्दा सपना हुन्छ एकपटक । शिक्षक बन्ने योजनाका साथ सानोठिमी क्याम्पस भर्ना भएँ । काम गर्दै पढ्ने योजनाका साथ कम्प्युटर सिकें । २०४८÷२०४९ सालमा कम्प्युटर सिक्नु र अझ नेपाली टाइपमा दख्खल राख्नु राम्रो कमाइको अवसर थियो । 

काठमाडौंमा आएपछि नयाँ परिवेश देखियो । असमानताको धेरै ठूलो फासला अनुभूत भयो । संसार बदल्न गरिएका संघर्ष गाथा पढेपछि त्यही बाटोमा हिंड्ने संकल्प गरियो । गाउँमा शिक्षक बन्ने सपना विस्तारै धुमिल भयो । असमानताका विरुद्ध संघर्ष गर्ने र वर्गमुक्तिका लागि लाग्नु महान् कर्म हो भन्ने निश्कर्षमा पुगें । 
मेरो कम्युटर जानेको सीपले मलाई पत्रकार बन्न उत्प्रेरित ग¥यो । जागिरको अवसरका लागि सिकेको त्यो सीप वर्गसंघर्ष उठानका लागि बदलें । 

त्यतिवेलाको जनादेश साप्ताहिक जनमुक्तिका लागि उत्प्रेरणा जगाउने राम्रो साधन थियो । त्यो लेटर प्रेसमा घिचिकघिचिक हुँदै चलेको थियो । कहिले अफसेटमा पनि आउँथ्यो, बन्द हुन्थ्यो । यसलाई कम्प्युटराइज्ड गरेर निरन्तर अफसेटमा छापिरहन पाए हुन्थ्यो भन्ने मलाई लाग्यो । जनादेश साप्ताहिकका तत्कालीन सम्पादक नारायण शर्माले पत्रिका नेतृत्व गरिरहनु भएको थियो । उहाँ हाम्रो क्षेत्रका पार्टीको पनि जिम्मेवार नेता हुनुहुन्थ्यो । जनादेशलाई कम्प्युटराइज्ड गर्ने र वाहिरका सँग व्यवसाय गर्ने र आएको नाफाले जनादेश चलाउने भनेर भोटाहिटीमा सिर्जनशील कम्प्युटर ‘व्यवसाय’ खोल्यौं । 

कम्युटर किन्न मैले फुपू दिदीको गहना राखेर बैंक ऋण लिएँ । नारायण शर्माका आफन्त अर्जुनले पनि पैसा हाल्नु भएको थियो । पछि उहाँको असामयिक निधन भयो । यो अभियानमा दीपक मैनाली पनि जोडिनु भएको थियो । महेश्वर दाहाल, गोविन्द आचार्य, मिलन नेपाली पनि सँगै हुनुहुन्थ्यो ।

वर्गसंघर्ष तीब्र हुँदै गयो । देशभरिबाट साथीहरु आउनेक्रम पनि बढ्यो । पार्टीको खुल्ला कार्यालय जस्तै थियो हाम्रो ‘व्यावसायिक’ अफिस । हाम्रा डेराहरु पाहुनाले भरिन्थे । हाम्रो ‘व्यवसाय’ को कमाइले धानिन मुश्किल हुन्थ्यो । तर, त्यसले हामीलाई चिन्ता लाग्दैन थियो । दिनदिनै साथीहरु ढल्दै थिए । जनयुद्ध सफलताको शिखर पनि चुम्दै थियो । रुकुम, रोल्पामा लडेका योद्धा हुन, या देशका कुनाकाप्चामा लडेका योद्धा हुन तिनीहरुसँग हाम्रो प्रतिबद्धता जोडिएको थियो । सपना गाँसिएको थियो । 

हामी एकैपटक नयाँ जनवादमा पुग्ने प्रतिबद्धता गरेका थियौं । हामी समाजवाद र साम्यवादमा पुग्ने सपना देखेका थियौं । हामी काठमाडौंमा थियौं तर डोल्पा या रोल्पामा हार्दा पीडा हुन्थ्यो । योद्धा ढल्दा हामी कैयन् पटक रोयौं । जित्दा हामी हाँस्यौ । हामी वन्दुक लिएका योद्धासँग सँगै थिएनौ तर हाम्रा भावनाहरु जोडिएका थिए । 
वर्गसंघर्ष चर्कदै गएपछि हाम्रो ‘व्यवसाय’ मा पनि संकट आयो । हाम्रा ऋणबाट जोडिएका कम्प्युटरहरु राज्यले कब्जा ग¥यो । हाम्रा प्रवन्ध सम्पादक मिलन नेपालीलाई राज्यले वेपत्ता बनायो । 

पार्टी र आन्दोलनको आवश्यकताले पत्रिकाको नेतृत्व पनि परिवर्तन भइरहन्थे । हाम्रा अग्रज आदर्श कृष्ण सेनले संकटको बेलामा हाम्रो नेतृत्व गर्नुभयो । शब्दहरु विचारबाट निर्देशित हुन्छन र आफ्ना निस्ठाका लागि शहीद हुन तत्पर हुनुपर्छ भन्नुहुन्थ्यो उहाँ । उहाँले आत्मसातीकरण गर्नुभयो । कृष्ण सेन बाँचिरहेको भए अहिले भइरहेको गतिविधिबाट कति निराश हुनुहुन्थ्यो होला !   

  आज हाम्रा प्रतिबद्धता फेरिएका छन् । हाम्रा सामूहिक प्रतिबद्धता व्यक्तिगतमा ढलेका छन् । एकथरि कमरेडहरु ‘नयाँ जनवाद’ बाट फड्को मारेर ‘समाजवाद’ बाट पनि ‘साम्यवाद’ निकट पुग्नुभएको छ । हामीहरु नयाँ जनवाद अगाडिकै ढोकामा रोकिएका छौं । 

कति फरक छ हगि हिजो र आज ? हिजो लडाईंका मोर्चा जित्दा सँगै जित्थ्यौ, हार्दा सँगै हाथ्र्याैं । आज केहीले जित्छौं र धेरैले हार्छाैं । यसपटक मैले पनि हारें । 
म माग्न धाएँ यसपटक । अपाङ्ग कोटाको राष्ट्रियसभा सदस्य बन्ने धेरै नै सपना देखें । अरुमा त मैले आशा गरे पनि त्यो सम्भव भएन । मैले जोसँग मागें, ती आफैं दरिद्र रहेछन । उनलाई नै नपुगेको रहेछ । सभामुख, मन्त्री भइसकेकाहरु नै आरक्षण मानिएको समानुपातिक सांसद्मा दोहोरिरहेका छन् । अब आगामी समयमा तिनैका छोराछोरी र भाइ वहिनीको उमेर पुग्ला, उनै उठ्ने होलान । हामी त त्याग र संघर्षमा सक्षम तर अहिले अक्षम सावित भइसकेका छौं । डेट एक्स्पायर औषधिमा रुपान्तरण भइसकेका छौं ।   

आजभोलि पार्टीको मिडिया छैन । धेरै नेताको कर्पाेरेट मिडियामा राम्रो ‘पहुँच’ छ । तिनले हाम्रा नेताको भजन लेखिदिन्छन । जुन दिन नेताहरु कर्पाेरेटका मित्र भए, त्यसै दिनदेखि हाम्रो सन्दर्भ सिद्धिएको रहेछ । तर, पनि वर्गको मुद्धा, सहयोद्धाको सपना, जो सँगै लडे, शहीद भए, तिनलाई सम्झदै आन्दोलनबाट वाहिर जान सकिएन, जान सकिदैंन । हाम्रा सामूहिक भावना अझै तुहिएको छैन । सपना अझै मरेको छैन । तर, फरक फरक सोंच र अभियान छ । नयाँ जनवाद र समृद्ध समाजवादको दूरी नै फरक छ ।  

मिडियामा पार्टीको बारेमा समाचार, लेख आइरहेको छ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फेरि केन्द्र सरकारको निर्माणको तरखरमा छ । फलाना एमाले निकट, फलाना एमालेको मोर्चाविरोधी आदि आदि । कसले सरकारको नेतृत्व गर्ने र को को मन्त्री बन्ने भन्ने आफ्ना ‘निकट’ बाट लबिङ सुरु भइसकेको छ । 

कसको नेतृत्वमा सरकार बन्ने र को मन्त्री बन्ने कुराले जनतामा यतिवेला खासै उत्साह छैन । पटकपटक मन्त्री भइसकेकाहरुलाई नै दोहो¥याइने भएर पनि होला, विद्रोही माओवादी पनि संरचनाको दास भएर पनि होला, धेरै ठूलो अपेक्षा जनतामा छैन । 

त्याग, वलिदान र साहसको पर्याय बनेको माओवादीभित्रको नेतृत्वको एउटा तप्का अहिले आफू र आफ्ना निकटलाई पद र सुविधा दिलाउनमा प्रतिस्पर्धा गरिरहेको छ । जति धेरै अवसर लिन सक्यो, लिन चाह्यो त्यति ठूलो नेताको रुपमा दर्ज हुने अवस्था छ । एउटै क्याबिनेटमा मन्त्री बनेको भनेर बाबुराम र हिसिलालाई गिज्याउने ‘युवा नेता’ हरु अहिले त्यही पदचाप पछ्याइरहेका छन् । पार्टी र संघर्षको कुरा त भाषणको खजाना मात्र बनिरहेको छ । विपक्षीलाई घुक्र्याउने र तर्साउने मसला मात्र भएको छ । 

काँचको सिधा लडाईमा अब्बल देखिएका युवाहरु नै अवसरका गुलियो गोलीमा किन भुले ? विचार र आदर्शबाट निर्देशित नभएको साहस यस्तै हो कि ? यदि यसै हो भने मिलन चक्रे, दीपक मनाङ्गे, खुमबहादुर खड्काको भन्दा क्रान्तिकारी माओवादीको जीवन दर्शनमा के फरक रह्यो र ? विचार र संस्कृतिको समायोजनले सभ्यताको मापन हुन्छ । हामीले हिजो गरेको त्याग, तपस्या, समर्पणको भावना अनुकरणीय हो । आज नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताले भन्दा पृथक नहुने अझ उनीहरुले समेत कुरीकुरी गर्दै गिज्याउने अवस्था बन्यो भने के भन्ने ?
कहिलेकहीं हिजोका संघर्षका, त्यागका कुरा स्मरण गर्दा गौरवानुभूति हुन्छ । आजको अवस्था सम्झदा निराशा पैदा हुन्छ । 

वहिनी शहीद भइन । भाइहरु यही आन्दोलनमा लागे । त्यसमा मलाई प्रायश्चित छैन । तर, एकपटक वीरतापूर्ण संघर्ष गरेर जीवनभरि, आफू र आफ्ना साखा सन्तानले पद र सुविधामा रमाइरहने हो भने त्यो वेठीक हुन्छ । त्यसो गर्दा नयाँ सामन्तवादको जन्म हुन्छ । रोल्पा, रुकुमले दिनुपर्ने शिक्षा भनेको नयाँ विचार, नयाँ संघर्ष र नयाँ संस्कृति हुनुपर्छ । माओवादीलाई संघर्षबाट सिकाएको ठाउँ हुन ती । बालाराम घर्ती मगर, गोपालजीजंग शाहकै विचार र संस्कृति अंगाल्ने हो भने त्यसले दिने परिणाम उही हुन्छ । घुमिफिरी रुम्जाटार ।  

जनयुद्धकालमा कम्प्युटर किन्न लिएको ऋणले आजभोलि धेरै नै सताउन थालेको छ । फुपुसँग बैकमा धितो राखेर लिएको गहनाको ऋण तिर्न नसकेर डुब्यो । त्यही गहनाका कारण फुपुसँग सम्बन्ध लामो समयसम्म त्यति राम्रो भएन । वर्ग र आन्दोलनका लागि भनेर त्यसलाई पचाउँदै आइयो । तिर्न मन छ । साम्यवाद निकट पुग्न लागेको माओवादी देख्छ समाज र आफन्त पनि । म आफैं त्यो ऋण तिर्नसक्ने अवस्थामा अझै छैन । कमाएर तिर्ने योजना पाल्दापाल्दै फुपु बूढी हुनुभएको छ । असक्त हुनुभएको छ । यतिखेर अझ बढी चित्त दुखेको होला फुपुलाई । तिर्नैपर्छ । म हिजोकै माओवादी जस्तो छु । कमाउने धन्दामा छैन । 

मेरो बुझाइमा अझै संघर्ष बाँकी छ फुपु । यसैले त्यही चिन्ताका साथ लागेको छु । यसैले अभाव नै छ म र मजस्ता साथीलाई । हो, राजनीतिक परिवेश बदलिएको छ । वर्गसंघर्षको तरिका बदलिएको मात्र हो । फरक मोर्चामा गएर संघर्ष गर्न खोजेको हो मैले । मैले म र आफन्तका लागि वर्गाेत्थान गर्ने सपना देखेको थिइन, अझै छैन । 

सँगै नयाँ जनवाद, समाजवाद र साम्यवादमा पुग्ने विचार र भावना अझै मरेको छैन । हाम्रो वर्ग र हामीले जितेका छैनौं फुपु । यसैले भौतिक रुपमा हामी दुःखी नै छौं । पहिलो पटक पद माग्दा नपाउँदा केही समय दुःखी भएँ । दरिद्रसँग नै मागिएछ भन्ने लागेको छ । दुःख भन्दा पनि मागेकाले लाज लाग्न थालेको छ । अब कसरी जाने भन्ने सोंच बनाउँदै छु । सल्लाह गर्दैछु ।  समयबद्ध साप्ताहिकबाट  


 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive