newsone

अवसर नचुकाऔं !

newstwo अवसर नचुकाऔं !

यतिखेर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकताको प्रश्न अप्ठ्यारोमा परेको छ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमण लगत्तै पार्टी एकीकरण अन्योलमा परेको संजोग मात्रै मान्न सकिने स्थिति होइन । एमाले अध्यक्ष केपी ओलीको थाइ भ्रमण लगत्तै पार्टी एकीकरणको मुद्धा ओझेलमा पर्दै गएको विषय स्वराजको भ्रमणसँगै नेपथ्यमा जानु निकै अर्थपूर्ण लाग्छ ।

गएको निर्वाचनमा दुई ठूला बाम पार्टीले पार्टी एकीकरण गर्ने विषय थोरै राजनीतिक र धेरै प्रचार स्टण्ट थियो । एमाले पार्टीको तत्कालीन चुनावमा गठबन्धन गर्ने कुरालाई माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकीकरणसम्मको प्रस्ताव गरेपछि यस विषयले लोकप्रिय नाराको स्थान ग्रहण ग¥यो । गठबन्धन गर्नेमात्र निश्चित गरिएको भए बाम लहर ल्याउन त्यति सहज थिएन । तर, एकीकरण नै गर्ने प्रस्तावलाई दुवै पार्टीले सहजै स्वीकार्नासाथ यो नारा लोकप्रिय बन्न पुग्यो । दुवै पार्टीले एकीकरणसम्म जाने मार्गप्रशस्त नगरिकनै तात्कालिक फाइदाको लागि यो विषय स्वीकारेका हुन सक्छन् । 

अर्थात्, एकीकरणको प्रस्ताव गर्ने प्रस्तावक माओवादीले यो विषय पनि निप्टारा गर्ने हिसावमा प्रस्ताव गरेको हुनसक्छ । तर, एकीकरणको प्रस्तावलाई बाम मतदाताले साँचो अर्थमा लिए र यसलाई भारीभरकम रुपमा अनुमोदन पनि गरिदिए । 

यतिखेर एकताबाट भाग्ने बाटो त बन्द भइसकेको छ । तर, कुनै न कुनै बहानामा एकतालाई धकेल्दै–धकेल्दै लैजाने र तुहाउने उपायको खोजी भइराखेको हुनसक्छ । एकता जसको कारणबाट असम्भव हुन गयो उसको भने आगामी राजनीतिमा तेजोबध हुने सम्भावना छ । नेकपा एमालेमा खेलेर एकता भाँड्ने सूत्र देशीविदेशी शक्तिकेन्द्रले खेल्न सक्छन् । यसैले पहिले सरकार गठन त्यसपछि मात्र पार्टी एकीकरण गर्ने पहिलो सूत्र बाहिर आएको छ । यस्ता अनेकन सूत्रहरु प्रयोग गर्दै एकीकरण मृगतृष्णा हुँदै जाने सम्भावना पनि बढेर गएको छ ।

पहिलो कुरा त न्युनतम साझा मुद्धामा दरिलो बाम गठबन्धन गरेर गएको भए यो नौवत नै आउने थिएन । विश्वमा भएका बाम गठबन्धनको उदाहरणले पार्टी एकीकरण भन्दा मोर्चाबन्दीमा विशेष महत्व दिएको यसकारणले पनि हुनसक्छ ।

यद्यपि जे भए पनि पार्टी एकीकरणको लागि यो ऐतिहासिक अवसर हो । यो ऐतिहासिक अवसरलाई तुहाउनु नेपाली बाम आन्दोलन र फासीवाद विरोधी अभियानको निम्ति निकै घातक हुन्छ । माओवादी अध्यक्ष प्रचण्डले लचकतापूर्वक नै एकताको सूत्रलाई अगाडि बढाएका छन् । माओवादीका तर्फबाट एकतामा अनेकता ल्याउने कुनै तुरुप प्रवेश गरेको पाइएको छैन । 

एमालेको ठूलो पङ्क्ति र आम बाम जनसमुदाय एकीकरणको पक्षमा छन् । भर्खरै सम्पन्न निर्वाचनको मतादेश र जनादेशले पनि त्यतैतर्फ संकेत गरेको छ । स्थिर सरकार, विकास र समृद्धिको आश गरेर बसेका आमजनसमुदायको इच्छामा पानी खन्याउनु कसैको निम्ति पनि हितकर छैन । करिव पाँच दशक तितरबितर भएको बाम आन्दोलनको एकाकार गर्ने यो सुवर्ण अवसर हो ।

मुलतः बामपन्थीहरुले राष्ट्रको परिभाषा ठीकसँग गरे भने अहिलेको अन्तरविरोध खुट्टिन्छ । नेपाली जनताबीच भएको त्यही अन्तरविरोधको आधारलाई माक्र्सवादसम्मत व्याख्या गर्दा समाजवादको नयाँ आधार भेटिन्छ । यसर्थ दुई पार्टीका विगतका आआफ्ना मार्गदर्शक सिद्धान्तका आधारमा एकता हुन नसक्ने सूत्रको प्रयोग गरेर एकतामा अर्घेलो हाल्नु उचित छैन । जबज वा २१ शताब्दीकोे  जनवाद मार्गदर्शनको रोइलो काढेर आजको युगको माक्र्सवादी भाष्य भेटिदैन । यसका लागि समाजवादको नयाँ भाष्य गर्नु जरुरी हुन्छ । यदि यी दुई मार्गदर्शक सिद्धान्तका भाष्यले पार्टी एकीकरण वा अगाडि जाने बाटो कैद गर्दछ भने यिनलाई इतिहासका दस्ताबेजका रुपमा राखेर अघि जानुको विकल्प छैन ।

इतिहासमा विरलै आउने यस्ता अवसरहरुलाई उपयोग गर्न सके मात्र मार्गप्रशस्त हुन्छ । यसै पनि सूचना प्रविधिको विकासले हिजोको स्थितिमा व्यापक परिवर्तनको माग गरेको छ । १९ औं शताब्दीको माक्र्सवादी भाष्यमा बसेर अहिलेको परिस्थितिको एकीन व्याख्या गर्नु असहज नै हुन्छ । 

शान्तिपूर्ण परिवर्तनको रुपरेखा कोर्न यो एकताको आवश्यकता भएको हो । यो एकतालाई सामान्य संगठनको एकताको आधारशीलाको रुपमा मात्र बुझ्नु महाभूल हुनेछ ।


 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive