newsone

अलविदा कमरेड शशीधर !

newstwo अलविदा कमरेड शशीधर !

तनहुँ जिल्ला घर भई भारतको राजधानी नयाँ दिल्ली नजिकैको औद्योगिक शहर फरिदावादस्थित एउटा प्राइभेट कम्पनीमा काम गर्ने शशीधर जैसीको गत २७ फेब्रुअरीका दिन निधन भयो । उनी ५३ वर्षका थिए । उनी ने.क.पा. (माओवादी केन्द्र) र त्यसको भारत प्रवासको भातृ संगठन अखिल भारत नेपाली एकता मञ्च, फरिदावादमा विगत तीन दशकदेखि क्रियाशील थिए । फरिदावाद र त्यस वरपर बस्ने नेपालीहरुमाझ शशीधर जैसी एउटा सुपरिचित नाम थियो । नेपाली एकता मञ्चको केन्द्रीय समितिमा तथा पार्टीको जिल्ला तहमा संगठित इमान्दार कार्यकर्ता जैसीका दुवै मिर्गाैलाले विगत दुई वर्षदेखि काम गर्न छाडेका थिए । महिनाको छ आठ हजार रुपैयाँको आफ्नो नोकरीबाट आउने तलबको भरमा र यताउताबाट तानतुन गरेर उनले आफ्नो मिर्गौला रोगको उपचार खर्च जेनतेन धानेका थिए । कर्मचारी राज्य बीमा अस्पतालमार्फत् उनको उपचार जारी रहेको थियो । उपचारका लागि केही रकम चन्दा सहयोगबाट समेत जुटेको थियो । विगत दुई वर्षदेखि उनको जीवन लगभग अस्पतालकै शै®यामा गुज्रेको थियो जसले गर्दा कम्पनीबाट पाउने तलब समेत बन्द हुन पुगेको थियो । आर्थिक अभाव र विमारीको दोहोरो मारका शिकार बनेका थिए शशीधर जैसी । उनीसित मनग्गे पैसा भएको भएदेखि चिकित्सा विज्ञानको प्रगतिको यस युगमा कमसे कम एउटा मिर्गौला फेर्नु त्यति ठूलो कुरा थिएन । न उनी पैसावाल थिए न त राज्यको ढुकुटीबाट लाखौंलाख आर्थिक सहयोग उपचारका लागि हात पार्ने नेताको श्रेणीमा उनी पर्दथे । त्यसै कारण उनले समय नआउँदै आफ्नो ज्यान गुमाउनु परेको थियो । त्यसैले यसो भन्दा पनि अन्यथा हुने छैन कि उनी विमारीबाटभन्दा पनि विपन्नताको शिकार बनेर मृत्युवरण गर्न पुगे । उनी संगठनप्रति यति निष्ठावान् थिए कि मैले शशीधरलाई दुई महिना पहिले एउटा अनौपचारिक भेटघाट कार्यक्रममा उपस्थित भएको पाएँ । त्यसबेला उनी बस्न सक्ने अवस्थामा थिएनन् त्यसैले त्यहाँ उनी ओछ्यानमा पल्टिरहेका थिए ।

उनको मृत शरीरको दाहसंस्कार फरिदावाद सेक्टर २२ को श्मशामघाटमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा गरिएको थियो । १५/२० वर्ष कम्पनीमा नोकरी गर्दा पनि उनले आफ्नो मृत्युपश्चात् गरिने दाहसंस्कार र त्यसमा लाग्ने खर्चका लागि पैसा छाडेर जान सकेनन् । दाहसंस्कार स्थलमै चन्दा उठाएको दृश्य हेर्दा यस्तो लाग्दथ्यो मानौं धनदौलतको बोलवाला रहेको वर्तमान समाज र राज्यसत्ताले जैसीको लाशमाथि अट्टहास गरिरहेको छ । दाहसंस्कारमा सामेल भएकाहरुले चन्दा उठाएर उनलाई यस संसारबाट विदा गरे । आफ्नो मृत्युभन्दा दुई साता पहिले मात्र दिल्लीमा भएको अखिल भारत नेपाली एकता मञ्चको क्षेत्रीय सम्मेलनमा उनी विमारी अवस्थाका बावजुद सहभागी भएका थिए । यो उनको आन्दोलनप्रतिको निष्ठाभावको उच्च अभिव्यक्ति थियो । मृत्युपूर्व आफू भर्ना भएको अस्पतालको शै®याबाट उनले संगठनका साथीहरुलाई आफू शायद अब धेरै बाँच्न नसक्ने कुरा बताएका थिए । विरामी अवस्थामा अस्पतालमा उनलाई भेट्न गएका साथीहरु भन्छन् विमारीको हालतमा पनि उनमा पार्टी र आन्दोलनप्रति गहिरो आस्था थियो । दाहसंस्कारका क्रममा राखिएको शोकसभामा एमालेको भातृ संगठन प्रवासी नेपाली संघका प्रतिनिधिहरुले समेत आफ्नो शोकमन्तव्यका क्रममा शशीधर कमरेड नेपालीलाई समस्या पर्दा जतिखेर पनि दौडिरहने एउटा आदर्श सामाजिक कार्यकर्ता थिए भन्दै शोक समवेदना प्रकट गरिरहेका थिए ।

शशीधर जैसी एउटा व्यक्ति मात्र होइन, एउटा प्रतिनिधि पात्र हुन् । प्रवासमा र सिंगो नेपालमा आमनेपालीहरुले विपन्नता र विमारीका कारण भोग्नु परेको कष्टसाध्य जीवनका उनी एउटा प्रतिनिधि पात्र हुन् । त्यतिमात्र होइन, उनी माओवादी आन्दोलनप्रतिको समर्पण र इमान्दारीका पनि एउटा उदाहरण हुन् । अभाव र गरीबीमा छटपटाइरहेका आममाओवादी कार्यकर्ताहरुको दयनीय अवस्था झल्काउने उनी एउटा प्रतिनिधि पात्रसमेत हुन् । 

शशीधर जैसी जस्तै माओवादी आन्दोलनमा आबद्ध हजारौंहजार कार्यकर्ताहरुको आर्थिक अवस्था अत्यन्त दयनीय छ । उनीहरु चिकित्सा अभावमा बाँच्न बाध्य छन् ।  बिहान–बेलुकी के खाने भन्ने पिरलोमै दिन काट्न बाध्य छन् उनीहरु । अझ कैयौं त युद्धका घाउ र गोली शरीरमा राखेर बाँच्न अभिशप्त छन् । कैयौं मलेशियाका जंगल र खाडीका मरुभूमितिर अलापिएका छन् । भारतमा दरवान बन्नेहरुको पनि कमी छैन । तर माओवादीका केही नेता–कार्यकर्ताहरुको जीवनस्तर भने अस्वाभाविक रुपले उक्लिएको छ । धनी बनेका माओवादीहरुको सङ्ख्या औंलामा गन्न सकिन्छ । उनीहरु गरीबीको सागरमा बाँचिरहेका माओवादीहरुका बीचबाट सम्पन्नताको टापुमा पुग्न सफल भएका छन् । गरीबीको विशाल सागरका बीच समृद्धिका टापुहरु खडा हुनु पुँजीवादी समाजमा नयाँ कुरा होइन । तर शोषण, उत्पीडन, भेदभाव, असमानता (मूलतः आर्थिक) अन्त्य गर्ने विचार बोकेर क्रान्तिमा होमिएको माओवादी पार्टीका लागि यो मिल्दो कुरा होइन, अनैतिक पनि हो । यो विषय क्रान्ति र परिवर्तनका लागि सर्वस्व त्याग गरेका हजारौंहजार माओवादीहरुका लागि अत्यन्त पीडाजनक रहेको छ । यो पहिलो कुरा हो ।

दोस्रो कुरा, विभिन्नखाले चलखेल (ठेक्कापट्टा, दलाली, राजनीतिक नियुक्ति) बाट समृद्धिको टापुमा चढ्न सफल भएका केही माओवादीहरुलाई आधार बनाएर माओवादी भनेको भ्रष्ट शक्ति हो भनेर सबै माओवादीलाई एउटै तराजुमा जोख्न खोज्ने समाजको प्रवृत्ति पनि आममाओवादीहरुका लागि कम पीडादायी छैन । तेस्रो चाहिं अझै पीडादायी छ । जसले विभिन्न गलत तरिका प्रयोग गरेर धन–सम्पत्ति आर्जन गर्न सकेन, नियुक्तिहरु हात पार्न सकेन उसलाई समाजले सम्मान गर्नुको साटो  हुतिहारा वा असफल पात्रको कोटीमा गणना गर्ने गरेको छ । यो सामाजिक नैतिकतामा गिरावटको पराकाष्टा हो । नेपाली समाज यही नैतिक गिरावटबाट ग्रस्त छ । यसले महामारीको रुप लिएको छ ।

गरीबी, अभाव र विमारी लिएर बाँचिरहेका हजारौं माओवादीहरु ती आदर्श पात्रहरु हुन् जो समाज रुपान्तरणको उच्च भावका साथ आन्दोलनमा सामेल भएका थिए, छन् । तीमध्ये थुप्रैले आफ्नो ज्यान पनि बलिदान गरे– दुई चार होइन पूरै सत्र हजारको सङ्ख्यामा । यसरी मृत्युवरण गर्नेहरु वा क्रान्तिकारी विचारधाराबाट ओतप्रोत भएका उनीहरुलाई माओवादी तीन–तीन पटक सरकारमा जाँदा पनि केही नपाएकोमा गुनासो छैन । तर अचम्मलाग्दो त के छ भने जनयुद्धकालमा सुराकीको काम गर्ने समेत आज माओवादीका नेता बन्न पुगेका छन् । हिजो सङ्कटका बेलामा माओवादी भनेर चिनिन नचाहने वा माओवादी विचार र योद्धाहरुलाई अहोरात्र गाली गर्ने आज खाँटी माओवादीका रुपमा पहिचान बनाएर धनदौलत जोड्न सफल भएका छन् । मन्त्री र राजदूत बनेका छन् । विभिन्न राजनीतिक नियुक्ति हात पारेका छन् । यद्यपि मैले माथि उल्लेख गरेका पङ्क्तिहरु माओवादी आन्दोलन र त्यससँग जोडिएको विमर्शमा हजारौं पटक लेखिएका छन्, मैले कुनै नयाँ कुरा कोरेको होइन । आन्दोलनभित्र विद्यमान विकृति र विडम्बनाबारे एउटा महाभारत नै तयार हुन सक्तछ । कमरेड जैसीसित प्रशस्त धन भएको भएदेखि मिर्गौला फेर्न सकिने थियो । तर उनीसँग धन थिएन, त्यसैले उनीसँग असामयिक मृत्यु वरण गर्नुको विकल्प थिएन । उनी त्यसलाई स्वीकार्न बाध्य भए । कमरेड जैसीको निधन र दाहसंस्कारका लागि समेत चन्दा गर्नु पर्ने अवस्थाबाट क्रान्तिकारी आदर्शमा बाँचिरहेकाहरुको मन उद्वेलित हुनु स्वाभाविकै हो । त्यसैले मैले यी पङ्क्तिहरु कोर्ने जमर्को गरेको हुँ । अलविदा कमरेड शशीधर जैसी !
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive