newsone

अर्काे पटक पनि सभापति हुने दाउमा देउवा

newstwo अर्काे पटक पनि सभापति हुने दाउमा देउवा

काठमाडौं । पार्टीभित्र आफ्नो पोजिसन बलियो हुँदै गएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिबेशनपछि पनि पार्टी सभापति आफै हुने उद्घोष गरेका छन् । यसै साता उनले ट्रेड युनियनद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै भने, ‘५ वर्षभित्र नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनेछु, यसपछि मात्रै विश्राम लिनेछु ।

 ‘अर्ली’ महाधिबेशन बोलाएर देउवालाई सभापति पदबाट विस्थापित गर्ने अभियान रामचन्द्र पौडेल पक्षले सुरु गरेकै बेला देउवाद्वारा गरिएको यो उद्घोष अर्थपूर्ण छ । देउवा कुनै पनि हालतमा अर्ली महाधिबेशनको पक्षमा छैनन्, एक वर्ष कार्यकाल थपेर अझै तीन वर्ष पार्टीको नेतृत्व गर्ने र त्यसपछि हुने १४ औं महाधिबेशनमा पनि आफै सभापति निर्वाचित हुने अभियानमा छन् भन्ने संकेत हो यो । 

 पार्टीभित्र रामचन्द्र पौडेल पक्ष निकै गलेका कारण पनि सभापति देउवा उत्साहित भएका हुन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले करारी हार बेहोरे लगत्तै तत्काल राजीनामा दिन सभापति देउवामाथि दबाव सुरु भएको थियो । त्यो दबावलाई मत्थर पार्न देउवा सफल भए । त्यसपछि बिशेष महाधिबेशन बोलाउन देउवामाथि दबाव सुरु भयो । तर, संसदीय दलको निर्वाचनमा भारी बहुमतले देउवा विजयी भएपछि बिशेष महाधिबेशन बोलाउनु पर्ने दबाव पनि मत्थर भयो । यतिबेला अर्ली महाधिबेशनको दबाव देउवामाथि सुरु भएको छ । केन्द्रीय समितिको जारी बैठकमा आफ्ना विपक्षीद्वारा अर्ली महाधिबेशन सम्बन्धी दबाव सुरु हुना साथ सभापति देउवाले १४ औं महाधिबेशनपछि पनि आफै सभापति बन्ने उद्घोष गरेका हुन् । 

महाधिबेशनको मिति एक वर्ष थप पर सार्ने र त्यसपछि हुने महाधिबेशनमा पनि आफै सभापति बन्ने अभियानमा देउवा छन् । देउवाको कार्यकाल २०७६ चैतमा सकिन्छ तर विशेष परिस्थितिमा एक वर्ष म्याद थप्न सकिने बाटो मुलुकको संविधान र कांग्रेसको विधानले समेत खोलेको छ । विशेष परिस्थिति सिर्जना भयो भन्दै एक वर्ष म्याद थपेर २०७७ साल चैतमा महाधिबेशन गराई कम्तीमा २०८१ सालसम्म कांग्रेसको सभापति बन्ने  रणनीति देउवाको छ । त्यतिबेलासम्म उनी उमेरले पनि ८० नाघिसक्ने छन् । नेपाली कांग्रेसमा ८० नाघेका नेता सभापति बनेका नजीरहरु पनि छन् । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले पनि ८० वर्ष नाघ्दा समेत पार्टीको नेतृत्व लिइरहेका थिए । 

  पूर्व महामन्त्री खुमबहादुर खड्काको निधनपछि देउवा पार्टीभित्र थप शक्तिशाली भएका छन् । ९ चैतदेखि सुरु भई खुमबहादुरको निधनसँगै १७ गते स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक ३ वैशाखदेखि फेरि बस्दैछ । निर्वाचन परिणामबारे छलफल तथा भावी मार्गचित्र तय गर्न बोलाइएको बैठकमा केन्द्रीय समितिका ८१ मध्ये ५२ जनाले आफ्ना धारणा राखिसकेका छन् । बाँकी सदस्यलाई आफ्ना धारणा राख्न करिब पाँच दिन लाग्ने बताइएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेपछि पदाधिकारी मनोनयनको प्रस्ताव लैजाने तयारीमा सभापति देउवा रहेको समाचार स्रोतले जनाएको छ । सभापति देउवा यतिवेला पदाधिकारी मनोनयनबारे विमर्शमा छन् । दुई वर्षअघि सम्पन्न महाधिवेशनका क्रममा सभापति देउवाले खुमबहादुर र विमलेन्द्र निधि दुवै जनालाई उपसभापति बनाउने आश्वासन दिएका थिए । एक पदका लागि दुई जनालाई आश्वासन दिइएकै कारण देउवा पदाधिकारी मनोनयनको प्रश्नमा अनिर्णयको बन्दी बनेका थिए । 

खुमबहादुरको निधनपछि देउवालाई उपसभापति मनोनयन गर्न बाटो खुलेको छ । संभवतः अब निधि उपसभापति मनोनित हुनेछन् । सभापतिद्वारा मनोनयनको प्रस्ताव लगिने र त्यसलाई निर्वाचित केन्द्रीय सदस्यहरूको बहुमतले अनुमोदन गर्नुपर्ने प्रावधान विधानमा छ । खुमबहादुर खड्का समूहको सहमतिविना बहुमत पुग्ने अवस्था नभएका कारण अहिलेसम्म रोकिएको हो ।

गत महाधिवेशनमा देउवा पक्षका ३१, पौडेल पक्षका २८ र खुमबहादुर पक्षका पाँच जना निर्वाचित भएका थिए । बहुमत पु¥याउन ३२ जना चाहिन्छ । खुमबहादुर पक्षमा अब चार जना बाँकी छन् । यी चार जनाले साथ नदिए देउवाले बहुमत पु¥याउन सक्ने अवस्था रहँदैन । यसका लागि देउवाले खुमबहादुर पक्षका शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल र अजयकुमार चौरसियासँग एक चरणको छलफल गरिसकेका छन् । पूर्णबहादुर खड्कालाई महामन्त्री बनाए आफ्नो चित्त बुझ्ने आशय विरामी हुनुअघि खुमबहादुरले सभापति देउवासँग व्यक्त गरेका थिए । खुमबहादुरको यही आसय अनुसार पूर्ण खड्कालाई महामन्त्री बनाउने या पौडेल पक्षका केही केन्द्रीय सदस्यलाई आफूतिर तानेर बहुमत पु¥याई ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री बनाउने ? भन्ने निष्कर्षमा देउवा पुगिनसकेको समाचार स्रोतले जनाएको छ । 

खुमबहादुर समूहले साथ नदिँदा देउवासँग ३१ जना रहन्छन्, जसमध्ये चन्द्र भण्डारीले देउवाको खुलेआम विरोध गर्न थालेका छन् । यस्तो अवस्थामा देउवासँग ३० जना रहन्छन् । बहुमत पु¥याउनका लागि देउवाले पौडेल पक्षका कम्तिमा पनि दुई जनालाई आफूतिर तान्नुपर्ने हुन्छ । पौडेल पक्षका २८ मध्ये चीनकाजी श्रेष्ठ देउवा समूहमा प्रवेश गरिसकेका छन् भने डा. मीनेन्द्र रिजाल र डा. नारायण खड्काले हालै सम्पन्न संसदीय दलको निर्वाचनमा देउवालाई साथ दिएका थिए । देउवाले यी दुवैलाई प्रमुख सचेतक बनाइदिने आश्वासनका साथ आफूतिर तानेका थिए । तर, प्रमुख सचेतकमा बालकृष्ण खाण नियुक्त भएपछि डा. रिजाल र डा. खड्का देउवासँग सन्तुष्ट छैनन् । 

पौडेल समूहलाई फुटाल्दा पनि बहुमत पुग्न नसक्ने अवस्था उत्पन्न भयो भने सहमहामन्त्री पद पौडेल समूहलाई दिने तयारीमा पनि देउवा छन् । देउवाले जसरी पनि पदाधिकारी मनोनयन अनुमोदन गर्ने अवस्था उत्पन्न भएपछि पौडेल समूहले अर्कै रणनीति अवलम्वन गरेको छ । महाधिवेशन सम्पन्न भएको दुई वर्ष बितिसकेकोले अब गरिने पदाधिकारी मनोनयन विधान विपरीत हुने धारणा पौडेल पक्षले राख्न थालेको छ । पार्टीको विधानमै दुई महिनाभित्र भनेर स्पष्ट साथ किटानी गरिएका कारण २ वर्ष २ महिनापछि हुने मनोनयनलाई अवैध घोषणा गर्ने तयारीमा पौडेल समूह जुटेको हो । 

बैठकमा बोल्ने पौडेल समूहका कुनै पनि सदस्यहरूले अब पदाधिकारी मनोनयन गर्न विधानले नदिने कुरा राख्न छुटाएका छैनन् । यसैलाई मुद्दा बनाएर कार्यकर्तास्तरमा जाने तयारीमा पौडेल समूह देखिएको छ । तर, पौडेल समूहले सहमहामन्त्रीका लागि बार्गेनिङ गर्न यो तुरुप फ्याँकेको बुझाइ देउवा समूहको छ । विगतमा सुशील कोइरालाले सहमहामन्त्री पद देउवा समूहलाई दिएका थिए । त्यो नजिरलाई अहिले पनि निरन्तरता दिनु पर्ने पौडेल समूहले बताउँदै आएको थियो ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive