newsone

अन्नपूर्णको मनमौजी निर्णयमा ट्रष्टको छानबिन

newstwo अन्नपूर्णको मनमौजी निर्णयमा ट्रष्टको छानबिन

काठमाडौं । नेपाल ट्रष्टको सञ्चालक समितिले ट्रष्टको सम्पती खोजविनको लागि एक समिति बनाएको छ । यही बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गृहका सहसचिवको संयोजकत्वको सम्पत्ति खोज्न सुझाव दिने समितिमा नेपाल प्रहरीका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका एसएसपी, गृह मन्त्रालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, प्रधानमन्त्री कार्यालयका उपसचिव सदस्य रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी नेपाल ट्रष्टको कार्यालयका उपसचिवलाई बनाइएको छ । नेपाल ट्रष्टको नाममा आउनुपर्ने अर्बौ रुपैयाँको अन्पूर्ण होटेलको जग्गा पूर्वराजा ज्ञानेन्द्रको योजनाअनुसार सिर्जना राणा र कपिल शमशेर राणाले आफ्नो बनाउने प्रयास गरेका छन् । उक्त सम्पत्ति तत्कालीन राजा वीरेन्द्रको नाममा आउनुपर्ने थियो । वीरेन्द्रको हक लाग्ने सबै सम्पत्ति र राजाको रुपमा ज्ञानेन्द्र शाहले पाएको सम्पत्ति पनि नेपाल ट्रष्टमा आउनुपर्छ । तर, दरबारमार्गको जग्गालाई मिलेमतोमा ज्ञानेन्द्रले वीरेन्द्रको हक नलाग्ने बनाएर राणाद्वयलाई हकवाला बनाएको बताइएको छ । प्रमाणहरुले उक्त जग्गा राणाद्वयको नाममा जाने देखिँदैन । अन्नपूर्ण होटल दर्तादेखिको प्रमाण हेर्दा दरबारमार्गको उक्त जग्गा स्वर्गीय राजा वीरेन्द्रको नाममा स्वतः आउनुपर्ने हुन्छ । 

कपिल राणालाई दरबारले १६ वर्षसम्म पालेको थियो र उनलाई दरबारको कुनै पनि सम्पत्तिको दाबी गर्न नपाउने गरेर पालेर शिक्षा दिइएको थियो । दरबारमार्गको उक्त जग्गालाई अहिलेसम्म सरकारको नाममा ल्याउने काम ट्रष्टको नेतृत्वमा बसेकाहरुले गरेका छैनन् । त्यहाँ सचिव हुनेहरुले ट्रष्टमा आउनुपर्ने प्रमाणहरुलाई मिलेमतो र लेनदेनमा उल्टै नष्ट गर्ने गरेको आरोप लाग्ने गरेको छ । जनआन्दोलन २०६२/०६३ पछि बनेको नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ (४) मा राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गर्ने उल्लेख छ । ०२७ साल फागुन २८ गते तत्कालीन राज परिवारले स्थापना गरेको होटल डेला अन्नपूर्ण यतिबेला राणा परिवारको नाममा पुगेको छ । दरवार हत्याकाण्डपछि रातारात शेयर हस्तान्तरण भएर नयाँ मालिक बनेका कपिल शमशेर जबराले शेयर घोटाला गरेको थप तथ्य फेला परेका छ । आधारहीन कागजात वा बिना कागजात नै रातारात अर्बौको सम्पत्ति आफ्नो नाममा बनाएको रहस्य खुल्दै गएको छ ।

होटल डेला अन्नपूर्ण स्थापना हुँदा होटलको शेयर तत्कालीन मुमा बडामहारानी कान्ति राज्यलक्ष्मी देवी शाह, मुमा कान्छा बडामहारानी ईश्वरी राज्यलक्ष्मी देवी शाह र अधिराजकुमारी हेलेन शाहको नाममा थियो । त्यतिबेला मुमा बडामहारानी कान्ति राज्यलक्ष्मी देवी शाह र  मुमा कान्छा बडामहारानी ईश्वरी राज्यलक्ष्मी देवी शाहको संयुक्त नाममा ७ हजार ५ सय कित्ता, कान्छा अधिराजकुमारी हेलेन शाहको नाममा ५ हजार कित्ता र मुमा बडामहारानी कान्ति राज्यलक्ष्मी देवी शाह, मुमा कान्छा बडामहारानी ईश्वरी राज्यलक्ष्मी देवी शाह तथा अधिराजकुमारी हेलेन शाहका संयुक्त नाममा २ हजार ५ सय कित्ता शेयर थियो । तर २०३५ साल भदौ ७ अर्थात् २३ अगष्ट १९७८ मा आइपुग्दा अन्नपूर्ण होटलको अधिकांश शेयर कान्छा अधिराजकुमारी हेलेन शाहका नाममा गएको देखिन्छछ । त्यतिबेला मुमा बडामहारानी कान्ति राज्यलक्ष्मी देवी शाहको नाममा ३ हजार ७२ शेयर छ भने कान्छा अधिराजकुमारी हेलेन शाहको नाममा १० हजार ५ सय ७१ शेयर पुगेको छ । यहीबीचमा विजय राज्यलक्ष्मी देवी शाह, जयन्ती राज्यलक्ष्मीदेवी शाह र केतकी राज्यलक्ष्मी देवी शाहका नाममा पनि ३१ कित्ताका दरले शेयर दिएको पाइन्छ ।

२०३५ सालदेखि २०५८ सालको दरवार हत्याकाण्ड अगाडिसम्म होटल अन्नपूर्णको शेयर लगत कम्पनी रजिष्टार कार्यालयमा उपलब्ध छैन । तर राजदरवार हत्याकाण्डलगत्तै ७ जनवरी २००२ अर्थात् २०५८ पुस २३ मा एकाएक ६२० कित्ता शेयर र त्यति नै बोनस शेयर गरी कुल १ हजार २ सय ४० कित्ता शेयर लिएर अन्नपूर्ण होटलमा कपिल शमशेर जबरा देखा परेका छन् । अन्नपूर्ण होटलको इतिहासमा कहिल्यै नाम नसुनिएका कपिल शमशेर जबरा त्यसलगत्तै अन्नपूर्ण होटलको कार्यकारी प्रमुख हुँदै सञ्चालक समतिमा देखा परे । २०५८ साल पुष २३ गतेको मितिमा पनि तत्कालीन अधिराजकुमारी हेलेन शाहको नाममा सबैभन्दा धेरै ३ लाख १४ हजार ९ सय ८० कित्ता शेयर थियो । तर त्यसपछि हेलेनको नामको शेयर कसरी कपिलको नाममा गयो त्यसलाई पुष्टी गर्ने कुनै कागजात नभएको बताइन्छ । कपिल होटल डेला अन्नपूर्णको सञ्चालकमा आएलगत्तै उनको नाममा अनपेक्षितरुपमा शेयर बढ्दै गएको देखिन्छ । कहिले बकस त कहिले किनेको भन्दै उनको नाममा अहिले कुल शेयर ८५ प्रतिशत अर्थात् ४ लाख ८८ हजार ८ सय ९५ कित्ता शेयर पुगेको छ । तर कपिलको नाममा कसरी यत्तिका शेयर पुग्यो भन्नेबारेको कागजात कम्पनी रजिष्टार कार्यालयमा समेत छैन र त्यसलाई पुष्टी गर्ने वा पत्याउने आधार पनि छैन ।

२०६३ साल साउन १९ गते होटल डेला अन्नपूर्णको ३३ प्रतिशत अर्थात् १ लाख ९८ हजार २ सय ४० कित्ता शेयर इण्डियन होटल्स कम्पनी लिमिटेडबाट कपिल शमशेरले किनेको भनिएको छ । तर कम्पनी रजिष्टार कार्यालयमा न त इण्डियन होटल्स कम्पनी लिमिटेडले होटल अन्नपूर्णको शेयर किनेको रेकर्ड र तथ्य छ, न त बेचेको नै । त्यसैगरी २०६३ साल फागुन ११ गते हेलेन शाहले आफ्नो नाममा कायम रहेको २० हजार ६ सय २७ कित्ता सेयर शेषपछिको बकसपत्र गर्दै कपिल राणाकी श्रीमती सिर्जना राणाको नाममा दिइएको देखिन्छ । बकसपत्रमा हेलेनले आफूलाई पालनपोषण र रेखदेख गरेबापत् वा रिझाएवापत भन्ने शब्दको प्रयोग गरिएको छ । जबकि सिर्जना राणाले कहिल्यै पनि आफ्नी सासु हजुरआमा हेलेनलाई हेरचाह वा रेखदेख गरेकी थिइनन् । हेलेन छाउनीस्थित आफ्नै घरमा सहयोगीको रेखदेखमा थिइन् । बकस नक्कली बनाएको दाबी समाचार स्रोतको छ । यी सबै बिषयमा छानबिन हुने र होटल अन्नपुर्णको शेयर सरकारमा आउने जति ल्याएरै छोडने योजना अनुसार समिति गठन गरिएको दाबी गृह मन्त्रालयको छ । समयबद्ध साप्ताहिकबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive